काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका बैंक नोट नष्ट गरेको छ । केन्द्रीय बैंकले झुत्रा, मैला, च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोट धुल्याएर ब्रिकेट बनाएको हो ।
राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले जम्मा गर्न वा सट्टाभर्नाका लागि ल्याएका विभिन्न दरका अयोग्य नोट नष्ट गरिएको हो ।
केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तसम्म विभिन्न दरका ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए । उक्त परिमाण २०८३ असार मसान्तसम्म ६.०८ प्रतिशतले वृद्धि भएर ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।
बैंक नोटलाई थप सुरक्षित र गुणस्तरीय बनाउन राष्ट्र बैंकले नोटमा प्रयोग हुने सुरक्षण विशेषता तथा प्राविधिक स्पेसिफिकेसनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अद्यावधिक र परिमार्जन गर्दै आएको जनाएको छ ।
बैंकनोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ वटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा समावेश गरिएको छ ।
गत आर्थिक वर्ष ५ रुपैयाँ दरका ३५ करोड थान बैंकनोट करार सम्झौताअनुसार आपूर्ति भई राष्ट्र बैंकको ढुकुटीमा राखिएका छन् । त्यस्तै, १० रुपैयाँ दरका ३४ करोड थान नोट छपाइ तथा आपूर्तिका लागि भएको सम्झौताअनुसार पहिलो र दोस्रो लटअन्तर्गत २३ करोड थान नोट ढुकुटीमा सुरक्षित राखिएको छ ।
त्यसैगरी, १०० रुपैयाँ दरका ३० करोड थान नोट छपाइ तथा आपूर्तिका लागि भएको सम्झौताअनुसार पहिलो र दोस्रो लटमा २१ करोड थान आपूर्ति भई ढुकुटीमा राखिएको राष्ट्र बैंकले जनाएको छ ।
५०० रुपैयाँ दरका २३ करोड थान नोटमध्ये पहिलो लटमा १२ करोड थान आपूर्ति भई ढुकुटीमा राखिएका छन् ।
त्यस्तै, ५० रुपैयाँ दरका ४२ करोड थान र १ हजार रुपैयाँ दरका ४३ करोड थान बैंकनोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
२०८३ असार मसान्तसम्म राष्ट्र बैंकसँग विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात रहेका छन् । अघिल्लो वर्ष यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबर थियो ।

































